ताजा अपडेटः

गोरखामा चितुवाको आक्रमणबाट एक प्रहरी सहित तीन जना घाइते

गोरखामा चितुवाको आक्रमणबाट एक प्रहरी सहित तीन जना घाइते प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलवार २१:०७

गोर्खा । गोरखामा चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् ।

  पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई  मंगलबार साझ चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

‘घरभित्र बस्नुस्, बाहिर ननिक्लनुस् भनेर प्रहरी टोलीले स्थानीयलाई सूचित गर्दै गर्दा उन्यू घारीमा लुकेको चितुवाले  घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट  आक्रमण गरेछ,’उनले भने,‘स्थानीय र प्रहरीलाई आक्रमण गरेको दुरी ७–८ सय छ ।’

प्रहरी हवल्दार रायमाझीको पिठ्युमा चिथोरेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केशरबहादुरको ढाड र अभिषेकको बायाँ तिघ्रा, पाखुरा र नारीमा चितुवाले चिथोरेको डिएसपी लामिछानेले बताए ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार भएका तीन जनाको अवस्था भने सामान्य छ ।



Ads