नवलपरासी पश्चिम बैशाख १२ गते । चितुवाले आक्रमणबाट नवलपरासी पश्चिमका चार जना घाइते भएका छन् । शुक्रबार बिहान चितुवाको आक्रमणबाट प्रतापपुर र सुस्ता गाउँपालिकाका स्थानीयहरु घाइते भएका हुन् । सुरुमा चितुवाले प्रतापपुर गाउँपालिका–६ का ३६ वर्षिय रघुबिर केवटलाई आक्रमण गरेको थियो । पुल नजिकै काम गरिरहेका केवटलाई आक्रमण गरेपछि अन्य दुई स्थानका थप तीन जनालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी र बीरदत्त पन्तले बताउनुभयो ।
घाइते हुने अन्य तीन जनामा प्रतापपुरकै वडा नम्बर ६ का ३० वर्षिय प्रेम कोइरी, २८ वर्षका उमालाल कोइरी र सुस्ता गाउँपालिका–५ का २७ वर्षिय महमद मिया रहनुभएको छ । उहाँहरुका ढाड, अनुहार, हात र टाउकोमा घाउ परेको छ । घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि फर्केको प्रहरीले जनाएको छ ।
आक्रमण गर्ने चितुवा राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने वन कर्मचारीहरुले बताएका छन् । त्यस क्षेत्रमा ठूलो केराबारीहरु रहेकाले त्यही लुकेको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयलाई क्रमैशसँग आक्रमण गर्न थालेपछि स्थानीयहरु इतिबेला त्रसित बन्न थालेका छन् ।