नवलपरासी पश्चिम चैत २४ गते । मकै पकेट क्षेत्र घोषणा भएलगत्तै नवलपरासी स्थित सुनवल नगरपालिका वडा नम्बर ३ ले कृषकलाई अनुदानमा मकैको कृषि औजार वितरण गरेको छ । किसानको माग अनुरुप वडाकोे ८० प्रतिशत अनुदानमा विभिन्न प्रकृतिका कृषि औजारहरु हाते ट्रायाक्टर, मकै रोप्ने मेसिन, मकै छोड्ने मेसिन र ग्रास कटर वितरण गरेको हो ।
लागत घटाई मकै उत्पादनमा वृद्धि गर्ने लक्ष्य सहित किसानलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरणसगँ जोड्न अग्रसर बनाउने उदेश्यले सुनवल नगरपालिका वडा नम्बर ३ ले ८० प्रतिशत अनुदानमा करिव साढे ३ लाखको मकैको कृषि औजार वितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङले जानकारी दिनुभयो ।
वडामा रहेको ६ वटा टोललाई समुह विभाजन गरि किसानको आवश्यकता अनुरुप प्रत्येक टोल विकास समितिलाई कृषिका औजारलाई हस्तान्तरण गरिएको छ । प्रत्येक १ समुहमा १२–१५ जनाको समुह रहेको छ । समुहले आफुलाई आवश्यक पर्दा ति औजारहरु प्रयोग गर्ने र खाली समयमा अन्य किसानलाई सुपथ मुल्यमा संचालन गर्न दिनेछन् । सो बापत उठेको रकमले उक्त कृषि औजार विग्रेमा मर्मत सम्भार गर्नुपर्ने वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कात्तिकमा धान काटेरे मकै रोप्नका लागि समयमा ट्रायाक्टर नआईदिदा व्यवसायिक मकै खेतीमा वर्षेनी समस्या व्यहोर्नुपर्ने वाध्यताको हाते ट्रायाक्टर भएपछि अन्त्य भएको सुनवल वडा नम्बर ३ का कृषक मन बहादुर पचभैयाले जानकारी दिनुभयो ।
कृषि औजार वितरण कार्यले वडाका ४ सय मकैखेती गर्ने किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरणा प्रदान गर्न, कृषि वस्तु उत्पादन गर्न र खेती प्रणालीमा सहजनता प्रदान गर्न सहयोग मिल्नेछ । वडाले २ वटा हाते ट्रायाक्टर, १३ वटा मकै रोप्ने मेसिन, १३ वटा मकै छोड्ने मेसिन र २ वटा ग्रास कटर वितरण गरेको छ ।