ताजा अपडेटः

पश्चिम नवलपरासीमा १६ हजार भन्दा बढि किशोरीलाई ” एच पि भी ” खोप लगाइने

कल्पना खरेल
पश्चिम नवलपरासीमा १६ हजार भन्दा बढि किशोरीलाई ” एच पि भी ” खोप लगाइने प्रकाशित मिति: १३ माघ २०८१, आईतवार २२:०२

माघ १३, नवलपरासी । पश्चिम नवलपरासीका १६ हजार भन्दा बढि किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एच पि भी खोप लगाइने भएको छ ।
जिल्लाकाे ३ नगरपालिका र ४ गाउँपालिका गरि सातै स्थानीय तहका २ सय विद्यालयमा अध्ययनरत १५ हजार ६ सय ६९ र विद्यालय बाहिरका करिब ६ सय २४ गरी १६ हजार २ सय ९३ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर विरुद्धको एच पि भी खोप लगाइने भएकाे हाे ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीलाई एच पि भी खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयाे ।
उहाँका अनुसार किशोरीहरुलाई खोप लगाउन जिल्लामा रहेका २ सय  विद्यालयमा २ सय १ खोप केन्द्र संचालन गरि  २ सय ५ खोप स्वास्थ्य कार्यकर्ता र ३सय ८ जना स्वयंसेवक परिचालन गरिने छ ।
प्रमुख ढकालले विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमै र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाईने व्यवस्था मिलाइने समेत जानकारी दिनुभयाे ।
जसकालागि जिल्ला ,पालिका तथा वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरु,स्वास्थ्यकर्मी, सम्बन्धित विद्यालयकाे प्रधानाध्यापक, स्वयम्सेविका अभिमुखकीरण गरिएको कार्यालयका खोप अधिकृत भेषराज शर्माले बताउनुभयाे ।
देशैभर एचपिभी खोप अभियान माघकाे २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने भनिएपनि यस जिल्लामा माघकाे २२ गते खाेप अभियान संचालन गरि एकहप्ताभित्र सक्न कार्यक्रम रहेकाे छ ।
एक अध्ययनका अनुसार विश्वमा पाठेघरको मुखको क्यान्सर हरेक वर्ष ५ लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा त्याे संख्या बढ्न गई  ७ लाख सम्म  पुग्ने अनुमान गरिएको छ । जसले हरेक वर्ष ३ लाख ११ हजार  जना महिलाहरूको मृत्यु हुनेगरेकाे  र सन् २०३० सम्ममा ४ लाख पुग्ने अनुमान छ ।
नेपालमा मात्र  हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ ।  हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेकाे छ ।
जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर दाेस्राे मुख्य कारक बनेकाे छ ।
‘एच पि भी’ भाइरस मुख्यतः स‌ङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्क मार्फत सर्ने भएकाले किशोरीहरुलाई लक्षित गरि याे अभियान संचालन गरिएकाे हाे ।




Ads