माघ ११ ,नवलपरासी । सुनवल नगरपालिकाले मोतिलाल बहुमुखी क्याम्पस सुनवल-१३, बडेरा, नवलपरासी (ब.सु.प.)लाई आज शुक्रबार बस हस्तान्तरण गरेकाे छ ।
क्याम्पसले आयाेजना गरेकाे बस हस्तान्तरण, पुजा एवम क्याम्पस संचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सुनवल नगरप्रमुख बिमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले क्याम्पस संचालक समितिका अध्यक्ष लेखनाथ खरेललाई बसको चाबी हस्तान्तरण गर्नुभएको हो ।
साेहि क्रममा बाेल्दै क्याम्पस समितिका अध्यक्ष लेखनाथ खरेलले क्याम्पस संचालनमा देखिएका समस्या र चुनाैतीका विषयमा व्यापक छलफल आवश्यक रहेकाे बताउनुभयाे ।
उहाँले लामाे समयदेखि बस नहुदा क्याम्पसमा विद्यार्थीकाे कमि भएकाे र बस भाडामा लिदा क्याम्पसले थप आर्थिकभार बाेहाेर्नुपरेकाे टिप्पणी गर्नुभयाे । अध्यक्ष खरेलले वि.स.२०६५ सालमा महायज्ञ गरि ठूलाे धनराशिमा स्थापना गरिएकाे यस माेतिलाल क्याम्पसमा पछिल्लोपटक प्राध्यापकलाई २२-२३ महिनादेखि तलब खुवाउन नसकेकाे गुनासाे गर्नुभयाे । जसकारण प्रध्यापकलाई करिब ४२ लाख बराबर रकम दिन बाकी रहेकाे छ ।
उहाँले यस क्षेत्रका विद्यार्थीलाई बाहिर अध्यापन गर्ने बाताबरण राेक्न र क्याम्पसकाे ऋण सल्टाई नमुना क्याम्पसकाे रूपमा स्थापना गर्न स्थानीय सरकार, सराेकारवाला, बुद्धिजीवी , राजनीतिक दल सबैलाई अपनत्व गर्न आग्रह गर्नुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै नगर प्रमुख अर्यालले सुनवल नगरपालिकालाई शैक्षिक हवकाे रूपमा विकास गर्न स्थानीय सरकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आएकाे बताउनुभयाे । उहाँले यस क्याम्पसकाे स्तर उन्नतिका लागि नगरपालिकाले बजेट विनियोजन गर्दै आएकाे जानकारी गराउदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
साथै आगामी वर्षको लागी भौतिक पुर्वाधार निर्माण तर्फ रु २५ लाख बजेट विनियोजन गरिएको समेत जानकारी गराउनुभयाे । उता नगरउपप्रमुख सुर्य प्रसाद दुवेले माेतिलाल क्याम्पसकाे संरक्षण सम्बर्द्धन र विकास गर्नु हामी सबैकाे दायित्व भएकाे भन्दै सबैले आ-आफ्नाे क्षेत्रबाछ पहल गर्न आग्रह गर्नुभयाे ।
हाल यश क्याम्पसमा व्यवस्थापन सङ्काय र मानविकी सङ्काय गरि २९० जना विद्यार्थी अध्ययनरत रहेका छन् । गत वर्ष मात्र ८९ प्रतिशत विद्यार्थी उत्तिर्ण गराई नेपालमै उत्कृष्ट क्याम्पस बन्न सफल यस क्याम्पसलाई जाेगाउन यस क्षेत्रका विभिन्न संघसंस्था , सामुदायिक वन,स्थानीय सरकार लाग्नुपर्ने छलफलमा सराेकारहरूले धारणा राखेका थिए ।
क्याम्पसका प्राध्यापक भोजराज पौडेलको संचालन रहेको कार्यक्रममा नगरप्रवक्ता एवं वडा नं १३ का वडा अध्यक्ष कृष्ण प्रसाद बगाले, वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, सामुदायिक विद्यालय व्यवस्थापन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्यप्रसाद न्यौपाने,वडेरा सामुदायिक वनका अध्यक्ष मदन पन्त, तिर्थराज उपाध्याय, डिल्लीराज पाण्डे लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सुनवल नगरपालिकाको गत आर्थिक वर्षमा विनियोजित रकम रु ३१ लाख ५० हजार बाट क्यामपसलाई बस खरिद गरिएको हो ।