पुस २६, दुम्किबास । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । अत्यधिक भार बोकेको लरीका कारण आज शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुल भाँचिएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो ।
डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात सुचारु हुने अवस्था नरहेकाे तिमिल्सिनाकाे भनाई छ । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व-पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ ।
एकै ठाउँमामा गाडीको चाप धेरै नहोस् भन्नका लागि अरुणखोला र बर्दघाटमा पूर्व-पश्चिम हिँडेका गाडी रोकिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो ।