ताजा अपडेटः

सर्वाधिक धनराशि सहित नवलपरासीमा पहिलो पटक राष्ट्रियस्तरको फुटबल प्रतियाेगिता

सर्वाधिक धनराशि सहित नवलपरासीमा पहिलो पटक राष्ट्रियस्तरको फुटबल प्रतियाेगिता प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार २०:४३

कल्पना खरेल,नवलपरासी । नवलपरासी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता पश्चिम नवलपरासी जिल्लामै सर्वाधिक धन राशी पुरस्कारकाे सञ्चालन हुने भएको छ । आयोजक राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानले आज आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरि उक्त जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा यही जेठ १७ गतेदेखि जेष्ठ २४ सम्म सुनवल १३ मा मोफसलका उत्कृष्ट क्लबहरु र ‘ए’ डिभिजन क्लबहरुको सहभागितामा राष्ट्रिय फुटबल प्रतियोगिता हुन लागेको जानकारी गराइएकाे थियाे ।
प्रतियोगितामा विजेता टिमले नगद रु ५ लाख ११ हजार पुरस्कार र उपविजेता टीमले नगद रु ३ लाख ११ हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ए डिभिजनमा रहेकाे नेपाल पुलिस क्लब र मोफसलका क्लबहरु हनामी बीएफसी चितवन, सुदूरपश्चिम-११, सहारा क्लब पोखरा, पाल्पा-११, कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके, नवलपरासी फुटबल संघको प्रतिनिधित्व गर्दै नवलपरासी -११ र आयोजकको प्रतिनिधित्व गर्दै राइजिङ स्टार एफसी गरी ८ क्लबको सहभागिता रहने अध्यक्ष पंगेनीले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी म्यान अफ द सिरिजलाई नगद रु २५ हजार पुरस्कार, फरक फरक विधाका ५ जनालाई रु १० हजारर प्रत्येक दिन म्यान अफ द म्याचलाई रु ५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारबाट रु १० लाख प्राप्त हुने भएपनि करिब ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिता सहिद स्मृति रंगशाला सुनवल-१२ मा संचालन हुने र आवश्यक पूर्व तयारी सकिएको प्रतियोगिताका खेल संयोजक सन्दिप केलतले जानकारी दिनुभयो ।
पहिलोपटक राष्ट्रियस्तरको खेल प्रतियोगिता सञ्चालनले अन्तराष्ट्रिय, राष्ट्रिय साथै स्थानिय गरी करिब २०० जना खेलाडीहरुलाई आफ्नो खेल कौशलता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने खेलको माध्यमबाट वडा, पालिका र जिल्ला लाई स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंले बताउनुभयो ।



Ads