कल्पना खरेल,नवलपरासी । श्री बाल्मिकी आधारभुत विद्यालय सुनवल,६ तिलकना न.प. काे कक्षा नर्सरी देखि कक्षा ३ सम्म निशुल्क शिक्षा घाेषणा कार्यक्रम आज बिहीबार सम्पन्न भएकाे छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमारी बस्नेतकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त निशुल्क शिक्षा घाेषणा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख अर्यालले राज्यले कक्षा १२ सम्म निशुल्क शिक्षा घाेषणा गरेपनि शिक्षक दरबन्दी नहुदा नचाहेर पनि शुल्क उठाउन बाध्य हुनुपरेकाेमा दुख व्यक्त गर्नभयाे । महिला अध्यक्ष, महिला प्रध्यानाध्यापक देखि शिक्षक कर्मचारी सबै महिला मात्र रहेकाे एक मात्र उदाहरण प्रस्तुत गर्न सफल यस विद्यालयकाे स्तरउन्नतिका लागि स्थानीय सरकार कटबद्व रहेकाे धारणा राख्नुभयाे ।
साथै नगरप्रमुख अर्यालले नमुना गाउँको रूपमा स्थापित यस तिलकना गाउँलाई नमुना विद्यालयकाे रूपमा चिनाउन समेत विद्यालय व्यवस्थापन समित, प्रध्यानाध्यापक,शिक्षक, समाजसेवी , राजनीतिक दल र स्थानीयवासीलाई आग्रह गर्नुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले नगर शिक्षा शाखाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयकाे अवस्थालाई मुल्यांकन गरेकाेले आवश्यक सहयाेग गर्न तयार गरेकाे धारणा राख्नुभयाे ।
नगरभित्र याे निशुल्क शिक्षा घाेषणा पहिलाे रहेकाे भन्दै शिक्षा शाखा अधिकृत भट्टराईले शिक्षा हरेक वर्ग, समुदायको पहुचसम्म पुग्नु आजकाे आवश्यकता रहेकाेले याे घाेषणा सगै अभिभावकमा नयाँ आशा पलाएकाे बताउनुभयाे ।
उता वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंले स्थानीय सरकारकाे मुख्य प्राथमिकतामा शिक्षा रहेकाेले नगर सगँकाे छलफल र सहमतिमा २०७९/०८० काे बजेटमा ४ लाख विनियोजन गरिएकाे बताउनुभयाे । अध्यक्ष चापागाईंले अधिक निम्न वर्गकाे समुदाय रहेकाे यस क्षेत्रमा शिक्षाकाे पहुचबाट काेहिपनि बन्चित नहुन भन्ने लक्ष्य सहित निशुल्क शिक्षाका लागि वडाले प्रत्येक वर्ष ४ लाख विनियाेजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
यसैविच बाेल्दै विद्यालयकाे प्रध्यानाध्यापक सीता घिमिरेले विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अनुशासित रूपमा पढाइ हुने हुदा पढाइ कुनैपनि संस्थागत विद्यालयकाे भन्दा कम नभएकाे बताउनुभयाे । उहाँले यस गाउँका १ देखि ३ सम्म पढ्ने बालबालिकालाई अनिवार्य यहि विद्यालयमा पढाउनुपर्ने अनिवार्य गरिएकाेले विद्यालयसम्म गाडिकाे व्यवस्था गरि सहज बाताबरण निमार्ण गरिदिन नगरप्रमुख विमला अर्याललाई आग्रह गर्नुभयाे ।
समाजसेवी विष्णु राेकाकाे संचालन र शिक्षिका दिया पुनकाे स्वागत रहेकाे कार्यक्रममा मन्तव्य जनसेवा मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहननाथ कवर , टाेल विकाश समितिका सचिव देव बहादुर लाेहनी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
वि.स. २०३९ सालमा स्थापना भएकाे यस बाल्मिकी आधारभुत विद्यालय सुनवल,६ तिलकनामा हालकक्षा नर्सरीदेखि ३ सम्म जम्मा ९२ विद्यार्थी अध्यापन गर्दै आएका छन् भने १ थाइ दरबन्दी शिक्षक, ४ वटा नगर शिक्षक , १ बाल शिक्षक र १ महिला कर्मचारी रहेका छन् ।