ताजा अपडेटः

राजनारायण मावि गेर्मीद्वारा अभिभावकसँग घरदैलो अन्तरक्रिया

राजनारायण मावि गेर्मीद्वारा अभिभावकसँग घरदैलो अन्तरक्रिया प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार २०:०२

माेहन पाैडेल
परासी, २ चैत । शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पश्चिम नवलपरासीको पाल्हीनन्दन ५ स्थित नमूना विद्यालयको रुपमा अघि बढिरहेको राजनारायण मावि गेर्मीले अभिभावकसँग घरदैलो अन्तरक्रिया गरेको छ । शिक्षक र विद्यालय व्यवस्थापन समितिको समूह बनाएर विद्यालयको कार्यक्षेत्र अन्तरगतका गाउँहरुमा गई अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं विद्यार्थीको आचारण सुधारका लागि अभिभावकको घरदैलोमै पुगेर अन्तरक्रिया गरिएको विद्यालयका प्रधानाध्यापक रेशम कँडेलले बताउनुभयो । शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समिति सबैको सामूहिक प्रयास आवश्यक रहेकोले यो अभियान चलाईएको उहाँको भनाई छ ।
विद्यालयले दुई वटा समूह बनाएर आज विद्यालयको सेवा क्षेत्रहरु पाल्ही, गेर्मी, गेरमा, सिसवा, चमनटोला, विष्णुपुरा लगायतका अभिभावकसँग प्रत्यक्ष भेटघाट गरि अन्तरक्रिया गरेको हो । घरदैलोमै पुग्दा विद्यार्थीको पढाईको अवस्था, विद्यार्थी र अभिभावकको पारिवारिक पृष्ठभूमि,पढाई सुधारमा अभिभावकले खेल्नुपर्ने भुमिका लगायतका विषयमा गहिराईबाट बुझ्न सहज हुनुका साथै अभिभावकमा पनि अपनत्वको महशुस हुने भएकोले यो अभियान निकै प्रभावकारी भएको प्रधानाध्यापक कँडेलले जानकारी दिनुभयो ।

अभियानको क्रममा अभिभावकबाट आएका सुझावलाई विद्यालयले कार्यान्वयन गर्दै जाने र विद्यालयको तर्फबट अभिभावकलाई दिईएका सुझाव पनि अभिभावकले ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद गुप्ताले बताउनुभयो । राजनारायण मावि गेरमी अहिले नमूना विद्यालयको रुपमा अघि बढिरहेकोले शैक्षिक गुणस्तर सुधार गर्न आफूहरु लागिपरेको अध्यक्ष गुप्ताको भनाई छ ।
शैक्षिक सुधार वृद्धि गर्न अभिभावक र विद्यालयको संयुक्त पहलबाट मात्र सम्भव भएकोले अभिभावकले विद्यार्थी र विद्यालयको अवस्था जानकारी लिनुपर्ने र अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद गौडले बताउनुभयो । अभिभावकले छोराछोरीलाई विद्यालय पठाएर मात्र जिम्मेवारी पूरा नहुने भन्दै उहाँले समय समयमा विद्यालय पुगेर विद्यार्थीको पढाईको स्तर, आचरण बुझ्ने तथा विद्यालयको गतिविधिको विषयमा पनि निगरानी गरि सुझाव सल्लाह दिन सके विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण टेवा पुग्ने गौडको विश्वास छ ।
पाल्हीनन्दन ५ का वडा अध्यक्ष दयाशंकर त्रिपाठीले विद्यालयले शुरु गरेको घरदैलो अभियानले शैक्षिक सुधारमा सहयोग पुग्ने विश्वास गरेको बताउनुभयो । आज वडा कार्यालयमै आयोजित अन्तरक्रियामा बोल्दै वडा अध्यक्ष त्रिपाठीले शैक्षिक सुधारको लागि विद्यालयले थालेको अभियानमा वडाको पूर्ण सहयोग रहने बताउनुभयो ।



Ads