ताजा अपडेटः

न्यूलाइफ मा.बि. मा बर्दघाट नगर स्तरिय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

न्यूलाइफ मा.बि. मा बर्दघाट नगर स्तरिय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रकाशित मिति: १७ माघ २०८०, बुधबार १८:१७

प्रकाश न्यौपाने

नवलपरासी । बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरिएको छ ।
बर्दघाटमा रहेको न्यु लाइफ मा.वि.को सञ्चालन र बर्दघाट नगरपालिकाको आयोजनामा बुधबार नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री गुरुङले खेलमा सहभागी सबैलाई सफलताको सुभकामना व्यक्त गर्दै सबैले पहिलो स्थान हासिल गर्न नसकिने बताउनुभयो । मन्त्री गुरुङले असफलता नै सफलताको पहिलो विन्दु हुने भएकाले त्यसका लागि आगामी दिनमा अझै मेहनत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले खेल पनि पढाई भएको बताउँदै खेलका नियमहरु अनुसार खेल खेल्दा सिकाई राम्रो हुने बताउनुभयो । खेलकुदलाई राजनिति प्रति व्यंग्य गर्दै उहाँले संघिय सरकारको खेलले प्रदेशलाई अधिकार नदिएको बताउनुभयो । ‘संघिय सरकारले प्रदेशलाई बलियो बनाउनका लागि कानुन तहः केही अधिकारहरु दिनुपर्नेछ, तर राजनैतिक खेलले पदेश सरकारले अधिकार पाएको छैन ।’ पाठकले भन्नुभयो । संघिय सरकारले प्रदेशका लागि बनाईदिनुुपर्ने कानुन नबनाउँदा प्रदेश सरकार अड्किएको पाठकको भनाई रहेको छ ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले खेलकुदको क्षेत्रमा बर्दघाटले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाईरहेको बताउँदै आगामी दिनमा नगरले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
बर्दघाट नगर उप–प्रमुख रुद्रपकाश उपाध्याय र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरले बर्दघाट नगरपालिका खेल क्षेत्रका लागि उर्जावान क्षेत्र रहेको बताउनुभयो ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बर्दघाट नगर भित्रका सामुदायिक र संस्थागत गरी २४ वटा विद्यालयको सहभागीता रहेको छ । समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका २४ वटा विद्यालयका करिब १ हजार १ सय विद्यार्थीहरुले मार्च पास गरेका थिए ।
आज बुधबार छात्रछात्राहरुको लङजम्प, ठेलो फाल्ने (सट पुट), १५ सय मिटर दौड, रिले दौड, लगायतका खेलहरु सम्पन्न भएको कार्यक्रमका अफिसियल विनोद ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक झलक सहित खानाका विभिन्न परिकारहरु बनाई खाना महोत्सव प्रर्दशन गरेका थिए ।
कार्यक्रममा न्यु लाइफ मा.वि. का पुर्व विद्यार्थी राज अधिकारीलाई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको २०२३ ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै द्धितिय स्थान हासिल गरेकोको सम्मान गरिएको थियो ।
बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीको स्वागत रहेको कार्यक्रमको सञ्चालन न्यु लाइफ मा.वि.का प्रिन्सीपल सन्तोष अधिकारीले गर्नुभएको थियो ।