ताजा अपडेटः

बागेश्वरी असल शासन क्लव नवलपरासी शाखा गठन, अध्यक्षमा विष्णु

बागेश्वरी असल शासन क्लव नवलपरासी शाखा गठन, अध्यक्षमा विष्णु प्रकाशित मिति: १५ माघ २०८०, सोमबार १७:१५

परासी, १५ माघ । पश्चिम नवलपरासीमा भ्रष्टाचार विरुद्ध देशव्यापी रुपमा क्रियाशील संस्था बागेश्वरी असल शासन क्लब (बास) नेपालको जिल्ला शाखा गठन गरिएको छ । आज परासीमा सम्पन्न युवाहरुको भेलाले बागेश्वरी असल शासन क्लव नवलपरासी शाखाको अध्यक्षमा विष्णुराज रावलाई चयन गरेको छ ।
नवगठित नौ सदस्यीय समितिको उपाध्यक्षमा जोगमाया चौधरी, सचिवमा राजु देवान, कोषाध्यक्षमा डोल्मा चौधरी, सहसचिवमा विन्द्रेश हरिजन तथा सदस्यमा मुकेश नारायण लोनिया, सलिम मोहम्मद,हेमन्त चौधरी र श्रद्धासुमन आचार्य रहनुभएको छ ।
यसैगरी सल्लाहकारमा वरिष्ठ अधिवक्ता सुदर्शन पन्त, रामजी ज्ञवाली, सञ्जय पाठक, सन्दिप अग्रहरी, मोहन पौडेल रहनुभएको अध्यक्ष रावले जानकारी दिनुभयो । उक्त अवसरमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बागेश्वरी असल शासन क्लबले भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका विरुद्ध एवं सुशासनको पक्षमा काम गर्दै आएको बताउनुभयो ।
युवा सशक्तीकरण, क्षमता विकास,सचेतना अभिवृद्धिमा पनि क्लबले देशैभरि काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । संस्थाका जनसम्पर्क अधिकृत माधव कार्कीले बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको ७७ वटै जिल्ला र सातै प्रदेशमा शाखाहरु सक्रिय रहेको जानकारी दिनुभयो ।
बास नेपाल नवलपरासीका नवनियुक्त अध्यक्ष विष्णुराज रावले राज्यका हरेक निकायको आर्थिक पारदर्शिता, जवाफदेहिता,सुशासनको लागि नवलपरासी शाखा सशक्त रुपमा अघि बढ्ने बताउनुभयो ।



Ads