ताजा अपडेटः

मानव बेचबिखन तथा ओेसार पसार कसुरमा ३ जना पक्राउ

मानव बेचबिखन तथा ओेसार पसार कसुरमा ३ जना पक्राउ प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार ०८:४९

कल्पना खरेल,नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धि कसुरमा ३ जनालाई पक्राउ गरेकाे छ ।  डिउटीमा खटिएको प्रहरीको गस्ती टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ चमनटोला स्थित नेपाल भारत दशगजा नजिक पिडित दुइ किशोरीहरुलाई ललाई फकाई प्रलोभन देखाई भारतको गोरखपुरतर्फ लैजादै गरेको अबस्थामा  उद्धार गरेकाे हाे ।
रामग्राम नगरपालिका २ हाटबजार टोल बस्ने अन्दाजी वर्ष २१ का कलिम मियाँले लु १८ प ५२६९ नं. को मोटरसाईकलमा बसाली लिई आएको ती दुई किशोरीहरुलाई UP 53 DB 4832 नं. को मोटरसाईकलमा आएका भारत देवरिया थाना बरहजवा ग्राम करजहा बस्ने वर्ष २६ को अरुण मल र भारत महाराजगंज थाना कोतवाली ग्राम दुबौली टोला छोटी पकडी नौनियाका वर्ष २८ का शैलेश बर्माको जिम्मा लगाई रहेको अवस्थामा शंका लागी  सोधपुछ गर्दा साे कुरा खुल्न आएकाे थियाे ।
तत्पश्चात संलग्न ३ व्यक्तिहरू सहित प्रयाेग भएकाे दुइ मोटरसाईकल समेत बरामद गरी नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिनका म्याद थप गरी अनुसन्धान कार्य भईरहेको समेत डिएसपी बाेहराले बताउनुभयाे ।