ताजा अपडेटः

पश्चिम नवलपरासीमा हिउँदेबाली लगाउनका लागि ल्याइएको ७१ मेट्रिक टन मल गोदाममै थन्कियो

पश्चिम नवलपरासीमा हिउँदेबाली लगाउनका लागि ल्याइएको ७१ मेट्रिक टन मल गोदाममै थन्कियो प्रकाशित मिति: २२ पुष २०८०, आईतवार १४:५१

 

 

नवलपरासी। हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ ।
जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो ।
“धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नमानेपछि उहाँहरुको भागमा परेको मल गोदाममै राख्नुपरेको छ”, पोखरेलले भन्नुभयो, “जिल्लामा रहेका सबै पालिकाले आ-आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।”
उक्त पत्र अनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो । नौ बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१।३ मेट्रिक टन गोदाममा थन्किएको छ । प्रमुख पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्थाले मल उठाएको छैनन् ।
सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले मल उठाएका छैनन् । पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ ।
कम्पनीले अहिलेसम्म चार पटक गरी मल वितरण गरेको छ । प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एक पटक पनि मल नलगेको प्रमुख पोखरेलले बताउनुभयो । कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ । जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो ।



Ads