ताजा अपडेटः

भन्सार छलि ल्याएको करिब ३९ लाख भन्दा बढिकाे सर्जिकल सामाग्री,औषधी कार सहित मानिस नियन्त्रणमा

भन्सार छलि ल्याएको करिब ३९ लाख भन्दा बढिकाे सर्जिकल सामाग्री,औषधी कार सहित मानिस नियन्त्रणमा प्रकाशित मिति: २२ पुष २०८०, आईतवार १२:२७

कल्पना खरेल,नवलपरासी ।  पश्चिम  नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ९ चण्डालटोलमा एक कारलाई चेकजाँच गर्ने क्रममा करिब २९ लाख बराबरकाे विभिन्न प्रकारकाे सर्जिकल सामाग्री तथा ओैषधी बरामद भएकाे छ ।
आज बिहान अन्दाजी ४ बजे  ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश नं.३ ०१-००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको उक्त मूल्य बराबरको सर्जिकल सामाग्री तथा बिभिन्न प्रकारका औषधीहरु बरामद गरेकाे हाे  ।
बरामद भएकाे सर्जिकल सामाग्री तथा बिभिन्न प्रकारका औषधीहरु ६ पेटीको अन्दाजी मूल्य रू.२९ लाख ४९ हजार १७ रूपैया र कार अन्दाजी मूल्य रू.१० लाख गरी जम्मा मूल्य रू. ३९ लाख ४९ हजार १७ रुपैंया बराबरको सामान बरामद गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ ।
साथै साेहि कारबाट गोरखाकाे गण्डकी गाउँपालिका वडा नं. ४ भेंडाबारी बस्ने वर्ष ३० को सुजन भन्ने विवेक पोख्रेल र  बाग्लुङ बडिगाड गाउँपालिका वडा नं. ५ टारी बस्ने वर्ष २९ को अभिषेक खरेललाई समेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको औषधी, मानिस तथा कारलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।



Ads