काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने घोषणा गर्नुभएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मङ्गलवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
यस्तै, उहाँले माघ मसान्तभित्र सबै जिल्ला प्रशासन कार्यालयमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइने पनि बताउनुभएको छ । प्रधानमन्त्रीको नयाँ घोषणामा अनलाइनबाटै राहदानी वितरण गर्ने र वैदेशिक रोजगारीको प्रक्रियालाई पूणर् अनलाइन गरी बैंकिङ प्रणालीसँग जोड्ने उल्लेख छ ।
यस्तै, प्रधानमन्त्रीले चैतभित्र सबै सरकारी कार्यालय, संस्थान र प्रतिष्ठानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिसक्ने दाबी गर्नुभएको छ । रेमिट्यान्सँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ छ । वैदेशिक रोजगारीको क्षेत्रमा धेरै सुधारका काम गरेको दाबी गर्दै उहाँले अबको ध्यान यसतर्फ केन्द्रित हुने पनि बताउनुभएको छ ।
श्रम स्वीकृति र पुनःश्रम स्वीकृति कार्यलाई पूणर्रूपमा अनलाइन गरिएको, २ वर्षे सीमालाई परिमार्जन गरी करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था भएको, विदेशमा रहेका नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्थादेखि टेलिमेडिसिन सेवासम्म उपलब्ध गराएको, वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण एवम् राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली, चौबीसै घण्टा गुनासो सुन्नेगरी श्रम कल सेन्टर सञ्चालनमा ल्याएर यस क्षेत्रको केही सुधार गरेको प्रधानमन्त्रीको दाबी छ ।स्रोतःउज्यालो