ताजा अपडेटः

बर्दघाटका अधिकारीको बिश्वको तस्बिर दोस्रो

बर्दघाटका अधिकारीको बिश्वको तस्बिर दोस्रो प्रकाशित मिति: ४ पुष २०८०, बुधबार २१:३६

 

नवलपरासी । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘इयर अफ मिलेट्स२०२३’ फोटो प्रतियोगितामा पश्चिम नवलपरासीका बर्दघाट ०४ निवासी राज अधिकारीले खिचेको फोटो दोस्रो स्थानमा पर्न सफल भएको छ ।

पहिलो हुनेमा दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिज रहनुभएको छ । विश्वका ५८ देशबाट पठाइएका झण्डै ८०० बढी तस्वीरहरू मध्ये कोदो सरक्षणसङ्ग सम्बन्धि रहेर प्रतियोगिता भएको थियो । अधिकारीले क्लिक गरेको नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्वीर दोस्रो स्थानमा पर्न सफल भएको हो ।

पश्चिम नवलपरासीको बर्दघाट-०४ निवासी अधिकारी फोटोग्राफर अधिकारीले स्याङ्जादेखि पोखरा जाने क्रममा कास्की जिल्लाको पुम्धि भुम्धिकी विष्णुमाया बरालको कोदो काट्दै गरेको फोटो खिचेर गत भदौ महिनामा प्रतियोगितामा सहभागी हुनुभएको थियो । सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेषगरी ग्रामीण क्षेत्रको अभिन्न अंग बनेको र कोदोको संरक्षणमा नेपालका ग्रामीण महिलाहरूको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले क्याप्सन दिनुभएको थियो ।

फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहनुभएको छ । उहाँ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत विद्यार्थी पनि हुनुहुन्छ ।



Ads