ताजा अपडेटः

जाजरकोट र रुकुम पश्चिममा गरि १२८ गर्याे  ज्यान

जाजरकोट र रुकुम पश्चिममा गरि १२८ गर्याे  ज्यान प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार ०९:०३

भदौ १८ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको ज्यान गएको छ ।

जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई जानकारी दिनुभयो । धेरै घाइते भएका र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको ज्यान गएको पुष्टि भएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार ३६ जनामध्ये २८ जनाको सनाखत भएको छ । ८५ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट जाने सडक पनि दुई ठाउँमा पहिरो जाँदा अवरुद्ध छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिमका सयौँ घरगोठ भत्किएका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सबैभन्दा धेरै मानवीय क्षति भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।



Ads