ताजा अपडेटः

२ महिनासम्म घटेको आयात तेस्रो महिनामा बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ पुग्यो

२ महिनासम्म घटेको आयात तेस्रो महिनामा बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ पुग्यो प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार १५:१२

काठमाण्डौ – चालु आर्थिक वर्षको दुई महिनासम्म घटेको आयात तेस्रो महिना अर्थात् असोजमा बढेको छ । बजारमा देखिएको आर्थिक मन्दीको असरले गर्दा साउनमा साढे एक प्रतिशत र भदौमा पाँच प्रतिशतले घटेको आयात व्यापार असोजमा भने बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार साउनदेखि असोजसम्म चार खर्ब सात अर्ब ७५ करोड रुपैयाँको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तीन महिनामा चार खर्ब रुपैयाँको वस्तु आयात भएकोमा अहिले एक दशमलव ६९ प्रतिशतले बढेको विभागले जनाएको छ । असोजमा मात्र नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । चाडपर्वमा खपत हुने सामान र बर्खा सकिएकाले विकास निर्माणका सामग्रीको आयात बढ्दा समग्रमा आयात बढेको विभागको तथ्याङ्कले देखाएको छ ।
आयात बढे पनि निर्यात भने घटेको छ । तीन महिनामा नेपालले ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । तर अघिल्लो आर्थिक वर्षको तीन महिनामा नेपालले ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालको निर्यात व्यापार दुई दशमलव २६ प्रतिशतले घटेको छ । साउनदेखि असोजसम्म तीन महिनामा समग्रमा नेपालको वैदेशिक व्यापार एक दशमलव ३१ प्रतिशतले बढेर चार खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा बढेको छ । व्यापार घाटा अघिल्लो वर्षको तीन महिनाको तुलनामा दुई दशमलव १५ प्रतिशतले बढेको हो । तीन महिनामा सबैभन्दा धेरै ५८ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको पेट्रोल, डिजल र एलपी ग्यास आयात भएको छ । यस्तै ११ अर्ब रुपैयाँको खाद्यान्न, १४ अर्ब ३२ करोड रुपैयाँको घिउतेल, १३ अर्ब रुपैयाँको रासायनिक मल, १५ अर्ब रुपैयाँको प्लास्टिकजन्य वस्तु, ३५ अर्ब रुपैयाँको फलाम र फलामबाट बनेका वस्तुको आयात भएको छ । यस्तै निर्याततर्फ एक अर्ब १९ करोड रुपैयाँको चिया, एक अर्ब ८९ करोड रुपैयाँको अलैँची, एक अर्ब १४ करोड रुपैयाँको पाम आयल, एक अर्ब ६० करोड रुपैयाँको ताजा जुस लगायतका वस्तु नेपालले बेचेको छ ।स्रोतःउज्यालो



Ads