ताजा अपडेटः

उद्धारमा खटिएका डीएसपीमाथि नै चक्कु प्रहार

उद्धारमा खटिएका डीएसपीमाथि नै चक्कु प्रहार प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार १२:५०

बाँके – इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।
कोहलपुर नगरपालिका-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।
प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । त्यो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताउनुभयो । तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि थापाले उहाँमाथि नै चक्कु प्रहार गरेका थिए ।
त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति झन्डै ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक अवस्था ठिक नभएको बताउनुभयो ।स्रोत ःउज्यालो



Ads