ताजा अपडेटः

शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन ः सांसद शर्मा

कल्पना खरेल
शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन ः सांसद शर्मा प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार १४:२९

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको छलफलका क्रममा सांसद शर्माले विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरू पनि रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो ।
सांसद शर्माले कक्षा १२ सम्मको विद्यालय शिक्षालाई कसरी एकरूपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? कसरी अहिलेको पाठ्यक्रम, शिक्षण विधिका कुरा र शिक्षकका सेवा सुविधाका प्रश्नमा सम्बोधन गर्ने र सबैले स्वीकार गर्ने कसरी बनाउने भन्ने कुरा महत्त्वपूणर् रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरू पनि छन् । यसमा सार्वभौम संसद्ले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ । यो देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले संशोधन गर्नुपर्ने छ । यो विधेयकलाई दफावार छलफलमा पनि व्यवस्थित ढङ्गले लामो समय दिएर छलफल गर्नुपर्ने आवश्यकता छ । यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफलको आवश्यकता छ ।’
सांसद शर्माले शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता रहेको बताउनुभयो ।स्रोतःउज्यालो




Ads