ताजा अपडेटः

बझाङमा आज मङ्गलवार गएको भूकम्पमा परी १ बेपत्ता भएका / १७ घाइते

बझाङमा आज मङ्गलवार गएको भूकम्पमा परी १ बेपत्ता भएका / १७ घाइते प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार २०:५३

बझाङ । बझाङमा आज मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिराेमा परि बेपत्ता हुनुभएकाे छ । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीकाे जिल्ला अस्पताल र केहीकाे नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
यसैबीच भूकम्पपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीले एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराएका छन् । दिउँसो सुत्केरी हुन जिल्ला अस्पताल बझाङ पुगेकी तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षकी मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिनुभएकाे जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा र शिशुको अवस्था सामान्य रहेको छ ।



Ads