ताजा अपडेटः

ठेकेदारका मान्छे सम्पर्कमा आइसकेका छन्, खजुरा खोलामा पुलको काम अगाडि बढ्छ : मेयर श्रेष्ठ

ठेकेदारका मान्छे सम्पर्कमा आइसकेका छन्, खजुरा खोलामा पुलको काम अगाडि बढ्छ : मेयर श्रेष्ठ प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार १८:०८

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले खजुरा खोलामा रोकिएको पुल निर्माण कार्य चाँडै अगाडि बढ्ने बताएका छन् । उनले केहि समय ठेकेदार सम्पर्कविहीन हुँदा अन्यौलता सिर्जना भएपनि अब पुल निर्माण कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा ठेकेदार निकट व्यक्तिहरु सम्पर्कमा आएको र पुल निर्माण सामग्री पनि ओसार्न थालेको मेयर श्रेष्ठले जानकारी दिए । उनले भने, “शिलान्यास भएपछि केहि समय काम भयो । फेरि बर्खा लागेपछि काम नभएको हो कि भन्ने सोच्यौं । पछि ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको पक्कै हो । हामीले ठेकेदारलाई सम्पर्कमा ल्याउन जिल्ला प्रशासनको सहयोग मागेकै हौं । अहिले उहाँका मान्छे सम्पर्कमा आउन थालेका छन् । पुलका सामान पनि झार्न सुरु भइसक्यो ।”
पछिल्लो दिनमा पुल निर्माण कार्य अगाडि नबढेपछि नगरपालिकाले ठेकेदारलाई ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि बर्दघाट नगरपालिकाले ठेकेदारलाई सम्पर्कमा ल्याउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । मेयर श्रेष्ठका अनुसार प्रशासनको ताकेतापछि असोज १० गते ठेकेदारलाई छलफलका लागि बोलाइएको छ ।
“ठेकेदारका बारेमा अन्त पनि धेरै कम्प्लेन रहेछ । हामीलाई अन्तको मतलव भएन । हाम्रो चासो खजुरा खोलाको हो । प्रशासनले ठेकेदारलाई यहि १० गते बोलाएको छ । उहाँका मान्छेहरु सम्पर्कमा आइसकेका छन् । सामान पनि झार्न सुरु गरेकाले अब काम अगाडि बढ्छ भन्नेमा ढुक्क छौं,” मेयर श्रेष्ठले भने ।
श्री मृत संजिवनी निर्माण सेवा प्रालिले ९ करोड ७७ लाखमा पुल निर्माण गर्ने गरी ठेक्का पाएको थियोृ । सम्झौता अनुसार २०७७ पुष २८ गते सम्झौता भएको पुल २०८० असार ३ गते निमाण सम्पन्न गर्नुपर्ने थियो । पुलको शिलान्यास नहुँदै सम्झौता मिति सकिन थालेपछि सांसद विनोद चौधरीको पहलमा ठेकेदार सम्पर्कमा आएका थिए ।
२०७७ सालमै डिजाइन भएर टेण्डर आह्वान भएको खजुरा पुल नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरी नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि बल्ल शिलान्यास भएको थियो । सांसद चौधरीले २०७९ चैत १२ गते पुल शिलान्यास गरेका थिए । उनले पुल तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदारलाई ताकेता गर्दै आएका छन् । बर्दघाट नगरपालिका वडा नं ५ र १६ जोड्ने, त्रिवेणीसम्मको छोटो सडक भएकाले यो पुल छिटो निर्माण सम्पन्न हुनुपर्नेमा सांसद चौधरीले जोड दिँदै आएका छन् ।



Ads