ताजा अपडेटः

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै, आजै सहमति गर्ने तयारी

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै, आजै सहमति गर्ने तयारी प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार ०८:१५

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेपछि गृह मन्त्रालयमा हुने तयारी छ । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घसँग सकारात्मक छलफल भइरहेकाले आजै सहमतिको प्रयास गर्ने जानकारी दिनुभयो ।

शिक्षकहरुको आन्दोलनका कारण आज पनि देशभरका धेरैजसो सामुदायिक विद्यालय बन्द हुने भएका छन् । हिजो पनि विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । विद्यालय बन्द गरेरै आन्दोलन गरेका शिक्षकलाई पठनपाठन नरोक्न चौतर्फी दबाब बढिरहेको छ । तर उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनमा रहने बताएका छन् । शिक्षकहरुले  राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, विद्यालयमा कर्मचारीहरुको दरबन्दी कायम गरी स्थायित्वको प्रक्रियामा लानुपर्ने र प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचना अन्तर्गत ल्याउनुपर्ने माग गरेका छन् ।

त्यस्तै, शिक्षकहरुको आवधिक बढुवा हुनुपर्ने, योग्य शिक्षकलाई माथिल्लो तहमा पद समायोजन गरिनुपर्ने, निजामती सेवामा जस्तै विशिष्ट श्रेणी तोकिनुपर्ने र ग्रेड तथा तलबको विभेद हटाइनुपर्ने, प्रधानाध्यापकको नियुक्ति पालिकाबाट नभइ शिक्षा आयोगमार्फत् नै गरिनुपर्ने लगायतका माग राखेका छन् ।

स्राेत :- उज्यालो



Ads