ताजा अपडेटः

नेपाल विद्युत् प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको बिजुली बेच्यो

कल्पना खरेल
नेपाल विद्युत् प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको बिजुली बेच्यो प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार १७:४८

काठमाण्डौ – चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) को बिजुली निर्यात भएको हो ।
साउन र भदौमा भारत निर्यात गरिएको बिजुलीको प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । २ महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि- एनभीभीएनलाई बिक्री गरिरहेको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र २ देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताउनुभयो । यस्तै उहाँले देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेको र , बिजुली नपुगेका ठाउँमा बिजुली पुर्‍याउनका लागि विद्युतीकरणको काम पनि चलिरहेको बताउनुभयो ।




Ads