ताजा अपडेटः

झण्डै ६१ किलो सुन तस्करी प्रकरणकाे सिआईबीद्वारा अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउने

झण्डै ६१ किलो सुन तस्करी प्रकरणकाे सिआईबीद्वारा अनुसन्धान प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउने प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार ०७:२४

काठमाण्डौ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो बेलुका सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।

यही ३१ गते ६० दिन पुग्ने भएकाले यो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो।

सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेको थियो । तर, स्वास्थ्यका कारण एक जना हिरासत बाहिर छन् भने ३० जना प्रहरीको हिरासतमा नै छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित, भारती र चिनियाँ नागरिक पनि  छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको सुन सिनामङ्गलमा रहेको भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।



Ads