ताजा अपडेटः

ग्रीसमा नेपालीले नै नेपालीलाई अपहरण गरी काठमाण्डौबाट झन्डै २२ लाख रुपैयाँ फिरौती लिने ४ जना पक्राउ

कल्पना खरेल
ग्रीसमा नेपालीले नै नेपालीलाई अपहरण गरी काठमाण्डौबाट झन्डै २२ लाख रुपैयाँ फिरौती लिने ४ जना पक्राउ प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार १६:३५

काठमाण्डौ – ग्रीसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाण्डौबाट फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख ७५ लाख रुपैयाँसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाण्डौका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश वेल्बासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो ।
सर्बियामा आफूहरूले गरिरहेको काम चित्त नबुझेको भन्दै ग्रीस जान थालेका मोरङको रङ्गेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याल सर्बिया र ग्रीसको सीमा क्षेत्रबाट अपहरणमा परेका थिए ।
ग्रीस प्रवेशका क्रममा तीन जनालाई हिन्दी भाषा बोल्ने दुई जनाले अपहरण गरेर डोरीले बाँधी शारीरिक र माननिक यातना दिएर १५ हजार युरो फिरौती माग गरेका थिए । अपहरणकारीकै समूहमा रहेका केही व्यक्तिले यूएई र ग्रीसबाट ह्वाट्सएपमार्फत पीडितका परिवारसँग फिरौती मागेर काठमाण्डौमा मान्छे खटाई रकम लिएको खुलेको छ । रकम लिनेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रीस र सर्बियाको सीमाबाट अपहरणमा परेका तीन जनालाई उद्धार गरेको पनि सीआईबीले जनाएको छ ।
यसैबीच प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश जाँदा नेपाल सरकारको श्रम स्वीकृति भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पूरा गरेर जान अनुरोध गरेको छ ।




Ads