ताजा अपडेटः

बारा बस दुर्घटना (अपडेट) : ज्यान गुमाएका सात जनाकै परिचय खुल्याे

बारा बस दुर्घटना (अपडेट) : ज्यान गुमाएका सात जनाकै परिचय खुल्याे प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार १०:५५

काठमाण्डाै – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएका सात जनाकै परिचय खुलेकाे छ । ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् ।

पशुपतिनाथकाे दर्शन गरी काठमाण्डाैबाट जनकपुरका लागि छुटेकाे तीर्थयात्री बाेकेकाे मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाईमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा १७ जना घाइते भएका छन् ।  घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेकाे पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनु भएकाे छ ।