ताजा अपडेटः

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार १०:५९

नवलपरासी ।  आज नागपञ्चमी पर्व ,परम्परा अनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ ।

यसवर्ष साउनमा अधिक मलमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकाल देखिको परम्परा छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन  भन्ने मान्यता छ ।

आज देशैभरका विभिन्न  नाग मन्दिर र शिवालय मन्दिरमा विशेषरुपमा पूजा गरी नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडपर्व शुरु हुन्छ ।



Ads