ताजा अपडेटः

एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार १४:४६

काठमाण्डौ – आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो ।
यस्तै गएको आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेको छ । यो सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएको हो । यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी देशमा विदेशी विनिमय सञ्चिति २६ दशमलव छ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गएको असार मसान्तसम्ममा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । यो रकमले देशका लागि १० महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुन्छ ।
२०७९ असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । आर्थिक वर्षको शुरुमा आयातमा कडाइ र त्यसपछि आर्थिक गतिविधि कमजोर हुँदा आयात घटेर मौद्रिक नीतिको लक्ष्यभन्दा धेरै विदेशी मुद्रा सञ्चित भएको हो ।