ताजा अपडेटः

३० वटा फेसबुक आइडी ह्याक गरेर रकम ठगी गर्ने पाँच जना पक्राउ

३० वटा फेसबुक आइडी ह्याक गरेर रकम ठगी गर्ने पाँच जना पक्राउ प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार १४:१४

काठमाण्डौ – फेसबुक आइडी ह्याक गरेर १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ । कार्यालयले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाई ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर घर भइ अहिले काठमाण्डौ महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका-१० घर भइ नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेका छन् ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ परेकाहरुले फेसबुक आइडी ह्याक गरी त्यसबाट रकम ठगी गरेको खुलेको जानकारी दिनुभयो।
अहिलेसम्म २२ जना पीडित कार्यालयको सम्पर्कमा आएका रेग्मीले बताउनु भयो । आइडी ह्याक गरेर उनीहरुले म्यासेन्जरबाट म्यासेज गरी ई-सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाइ ठगी गर्ने गरेका थिए ।
सीमान्तले आइडी ह्याक गर्ने, अमन्तले विभिन्न बहानामा रकम माग्ने, शुभेच्छा तथा अनुपले वालेटमा आएको रकम झिक्ने र रोहनले भने उनीहरुलाई सीमकार्ड उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताउनुभयो ।
पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



Ads