ताजा अपडेटः

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोजको पहिलो हप्तामा हुने

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोजको पहिलो हप्तामा हुने प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार १३:२०

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि यो परीक्षा सञ्चालन हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिनुभयो । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर, यस वर्षदेखि यो व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको अध्यक्ष शर्माले बताउनुभयो । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन्।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास-फेल छ भने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभइ उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।



Ads