ताजा अपडेटः

विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने

कल्पना खरेल
विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार २१:०९

काठमाण्डाै । वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।

यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यान गएमा मृतकका परिवारलाई सात लाख रुपैयाँ दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस्तै बोर्डले मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाएको छ । बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वर्षको आठ हजार रुपैयाँ दिँदै आएकोमा अब १२ हजार पाँच सय रुपैयाँ दिने भएको हो । यस्तै ९ कक्षादेखि १२ कक्षासम्म वर्षको १२ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अब १५ हजार पाँच सय रुपैयाँ दिने निर्णय भएको छ ।

यसैबीच वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने विभागले जनाएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै हिजो मङ्गलवार बेलुकादेखि सेवा अवरुद्ध रहेको छ ।




Ads