ताजा अपडेटः

प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री  शेख हसिनाबीच भेट, द्विपक्षीय हितका विषयमा छलफल

प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री  शेख हसिनाबीच भेट, द्विपक्षीय हितका विषयमा  छलफल प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार ०८:४०

काठमाण्डाै – प्रधानमन्त्री  प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच भएकाे भेटवार्तामा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको हो ।

भेटमा कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । छलफलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

त्यस्तै, बङ्लादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । बङ्लादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । केही महत्त्वपूर्ण जलविद्युत् आयोजनामा बङ्लादेश लगानी गर्न इच्छुक छ । प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्लादेशबीच विद्युत् व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरण समेत बनेको थियो ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित राष्ट्रहरुको समूह (एलडीसी)को अध्यक्षको हैसियतमा हिजो संयुक्त राष्ट्रसङ्घको ‘फुड सिस्टम समिट–२’ लाई सम्बोधन गर्नुभएको थियो । उहाँले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको दाबी गर्नुभएको थियो ।

हिजो नै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकन तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच पनि भेटवार्ता भएको थियो । शनिवार रोम प्रस्थान गरेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शुक्रवार स्वदेश फर्कने कार्यक्रम छ ।



Ads