ताजा अपडेटः

बाग्लुङमा घरपालुवा कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

बाग्लुङमा घरपालुवा कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार १३:५२

बाग्लुङ । बाग्लुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्नुपर्ने नीति लागू गरेकाे छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।

नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।

नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मरेका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ ।

कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।  चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बाग्लुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।



Ads