झापा – झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएको छ ।
नगरसभाबाटै यस्तो निणर्य गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयो । मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्ने गरी काम थालेको उहाँले भनाइ छ।
उहाँले नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको बताउनु भयो । चुरोट, खैनी, गुट्खा लगायतका सुर्तीजन्य पदार्थका कारण नगर कुरुप बनेको पोखरेलले बताउनु भयो । बाटोमा यत्रतत्र गुट्खाको खोल देखिनाले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनमा समेत चुनौती थपिएकोे गुनासो गर्नुभएको थियो ।
कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्री वितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिबाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् ।