सुरेश यादव,नवलपरासी ।
त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै पश्चिम नवलपरासीका ४ क्यापस खारेजी प्रक्रियाको सुचीमा परेका हुन । खारेजीको सुचीमा पर्नेमा परासी क्याम्पस रामग्राम,न्यु लाइफ कलेज बर्दघाट र सोमनाथ बाबा क्याम्पस सुनवल र अस्नैया आदर्श क्याम्पस सुनवल रहेका छन ।
विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका क्याम्पस समायोजन नीति अघि सार्दै देशभरका १७५ क्याम्पसहरूको नामावली प्रकाशित गरेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो । तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ ।
१ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन ।
त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो।गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ । तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ ।
दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरूमा ती क्याम्पस विद्यार्थी अभावमा सङ्कटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ ।