ताजा अपडेटः

रामग्राम नगरकाे तेश्रो सार्वजनिक सुनुवाई आज सम्पन्न

रामग्राम नगरकाे तेश्रो सार्वजनिक सुनुवाई आज सम्पन्न प्रकाशित मिति: २८ असार २०८०, बिहीबार १९:०२

सुरेश यादव,नवलपरासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आ.ब.२०७९।०८० को तेश्रो सार्वजनिक सुनुवाई विहिवार आज रामग्राम ९ जोकवारमा सम्पन्न गरेको छ । रामग्राम नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भोजनारायण यादवको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो अवसरमा वडावासिले नगरपालिकाले संचालन गरेका विभिन्न योजना, सेवा प्रवाह र विकास निर्माणका बारेमा खुलेर प्रश्न गरेका थिए ।


नगरको खानेपानी र सरसफाई, बाटोघाटो, कृषककालागि मलखादको व्यवस्था, सिंचाईको उचित व्यवस्था गर्नु पर्ने जस्ता विषय नगरवासीले सार्वजनिक सुनाइमा उठाएका छन् । यस्तै शिक्षाको गुणस्तर कायम गर्नु पर्ने, अपुग दरवन्दी पूर्ण गर्नु पर्ने जस्ता माग गरेका थिए । कार्यक्रममा नगरवासीले जुनसुकै योजना सम्पन्न गर्दा गुणस्तर कायम गरी दीर्घकालसम्मकालागि लाभ लिन सक्ने खालका योजना तय गर्न सुझाव दिएका छन् ।


सो अवसरमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले चालु आ.ब २०७९।८० मा ८४ प्रतिशत योजनाको काम सम्पन्न भएको बताउँदै नगरपालिकाले चालु आ.ब.मा ७०.४७ प्रतिशत वित्तिय प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । नगरप्रमुख यादवले नगरका गौरवका योजना तथा पालिका र वडाका योजनाहरुको गुणस्तर कायम गर्न नगरवासीले निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मानवहादुर खड्का, शिक्षा शाखाका अधिकृत सुन्दर खनाल, इन्जिनियर माधव न्यौपाने, स्थास्थ्य शाखाका अनिल खड्का लगायतले उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।


रामग्राम नगरपालिकाले यस अघि २ वटा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ । वडा नं. ११ र वडा नं १४ मा यस अघि दुई वटा कार्यक्रम गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनु भयो । कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक मेघराज गाैत्तमले गर्नुभएकाे  थियाे ।



Ads