ताजा अपडेटः

वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण

वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण प्रकाशित मिति: २५ असार २०८०, सोमबार १९:३७

काठमाण्डाै ।  सरकारले यस वर्ष पनि डेङ्गीले महामारीको रूप लिन सक्ने जोखिम रहेको बताएको छ । साेमवार डेङ्गी सङ्क्रमण रोकथाम तथा नियन्त्रण विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आयोजना गरेको अन्तरक्रियामा निर्देशक डा. रुद्र मरासिनीले यो वर्ष पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउनुभयो ।

ईडीसीडीको तथ्याङ्कअनुसार जनवरी १ देखि अहिलेसम्म ६६ जिल्लामा सङ्क्रमण देखिएको छ । जसमा एक हजार एक सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै दार्चुला, धादिङ र सुनसरीमा सङ्क्रमित भेटिएका छन् । कतिपय सङ्क्रमणका बारेमा पहिचान तथा रिपोर्ट नभएकाले पनि सङ्क्रमण अझ फैलिएको हुन सक्ने ईडीसीडीको अनुमान छ ।

जुनदेखि अगस्टलाई डेङ्गीले महामारीको रूप लिन सक्ने समय मानिन्छ । मनसुनपछिको समयमा डेङ्गी सङ्क्रमण बढ्न सुरु हुन्छ । तर गएको वर्ष मङ्सिरमा पनि डेङ्गी सङ्क्रमण हुने क्रम उच्च थियो । गएको वर्ष ५४ हजार सात सय ८४ जनामा डेङ्गी सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले अहिलेसम्मको अवस्था हेर्दा महामारी फैलिन नसक्ने देखिए पनि तयारी कम गर्न नहुने बताउनुभयो ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारकाे किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, माङ्सपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरू हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।



Ads