ताजा अपडेटः

सभामुख घिमिरे भन्छन् समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ

सभामुख घिमिरे भन्छन् समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ प्रकाशित मिति: २३ असार २०८०, शनिबार १९:३१

काठमाण्डाै । सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताउनुभएको हो ।

उहाँले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद् चलाउन  आग्रह गरेको बताउनु भयो । उहाँले साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो छ ? भनेर प्रश्न गरेको बताउनु भयो ।

जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले याे विषयलाई गम्भीरताका साथ लिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताउनुभएको घिमिरेले बताउनु भयाे । उहाँले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री प्रचण्डलाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने विश्वासमा आफू रहेको बताउनु भयो।

उहाँले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने ठाउँ संसद् बन्न नदिने बताउनु भयो । उहाँले विषय उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र त्यही अनुसार पहल गरिरहेको बताउनु भयाे ।

केही दिनअघि प्रधानमन्त्रीले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरुसँग धाउनुभएको थियो भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्नै नसक्ने बताउँदै संसद् अवरोध गर्दा सङ्घीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आइरहेको छ । यता, सत्ता गठबन्धनले भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेकाे छ । प्रतिपक्ष दलहरु प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभएको भन्दै विरोध गरिरहेका छन् ।



Ads