ताजा अपडेटः

यूएईमा एक नेपालीले जिते तीन करोड ६० लाखको चिठ्ठा

यूएईमा एक नेपालीले जिते तीन करोड ६० लाखको चिठ्ठा प्रकाशित मिति: २० असार २०८०, बुधबार १८:२६

यूएईमा एक नेपालीले जिते तीन करोड ६० लाखको चिठ्ठा, भन्छन् : नेपाल फर्किएर सानो व्यवसाय गर्छु

काठमाण्डौ । युएईमा एक नेपालीले एक मिलियन यूएई दिर्हाम अर्थात् झण्डै तीन करोड ६० लाख रुपैयाँ चिठ्ठा जितेका छन् । यूएईमा कार्यरत मेघ नाम गरेका नेपाली नागरिकले गएको शनिवार महजुज ड्रमा एक मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार तीन करोड ५७ लाख ९८ हजार १३३ रुपैयाँको चिठ्ठा जित्नुभएको यूएईको स्थानीय सञ्चार माध्यम गल्फ न्युजले उल्लेख गरेको छ । मेघको अन्तिम नाम अर्थात् थर र नेपालको ठेगाना भने समाचारमा उल्लेख गरिएको छैन ।

शनिवार भएको १३५ औँ महजुज ड्रमार्फत मिलियन दिर्हाम जित्नेमा मेघ चौथो नेपाली हुनुभएको छ ।  मेघ यूएईको  आबुधाबीको एक निजी कम्पनीमा अफिस ब्वाइका रूपमा  ८ वर्षदेखि कार्यरत छन् ।

मेघले महजुजको चिठ्ठा काटेको यो चौथो पटक थियाे। मेघले गल्फ न्युजसँग भन्नुभएको छ ‘महजुजको ड्र हुनुभन्दा ठिक अघि मैले पानीको बोतल किने र ड्रमा प्रवेश गरेँ, म त काम नै गरिरहेको थिएँ, त्यसैले शनिवारको दिन ड्र हेर्न मसँग समय थिएन, साथीले भनेपछि पो थाहा पाएँ ।’

साथीले फोनमा आफूले जीतेको खबर गर्दा पनि पत्यार नलागेपछि युट्युबमा ड्रको भिडियो हेर्दा मेघले आफ्नो महजुज नम्बर र नाम देखेको बताउनुभएको छ । गल्फ न्युजका अनुसार मेघको दुई बालबच्चा छन् । उहाँ अहिले उमेरले ४५ वर्षको हुनुभयो ।

आफूले विदेशमा कमाएर पूरा गर्न साँचेका सपना महजुज ड्रमार्फत पूरा भएकोमा आफू निकै खुसी भएको मेघको भनाइ छ । जितेको पैसाले आफ्नो बालबच्चाको भविष्य बनाउने, आफ्नो लागि घर बनाउने र नेपाल फर्किएर एउटा सानो व्यवसाय सुरु गर्ने उहाँको योजना छ ।



Ads