पाल्पा – पाल्पाको रामपुरमा छाडा तथा सामुदायिक कुकुरबाट सर्न सक्ने प्राणघातक रेबिज रोग नियन्त्रण गर्न र कुकुरको बढ्दो संख्या घटाउन स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिन शिविर चलिरहेको छ ।
रामपुर नगरपालिका-४, देविस्थानमा रहेको कालिका माध्यमिक विद्यालयमा हिजो देखि सुरु भएको शिविर आज दिनभरसम्म चल्नेछ । समुदायमा रहेका कुकुरबाट पशु चौपायासँगै मानिसमा रेबिज रोगको जोखिम बढ्न थालेपछि रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाको आयोजनामा सामुदायिक कुकुरहरुमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरेको हो । शिविरमा हिजो ४० भन्दा धेरै कुकुरको बन्ध्याकरण गरिएको छ ।
पशुचिकित्सक डाक्टर अविनाश क्षेत्रीले विश्वमा सन २०३० भित्र रेबिज मुक्त गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेको भन्दै नेपालमा पनि प्रयास हुँदै आएको बताउनुभयो । कुकुरबाट रेबिज रोगसँगै गुप्ताङ्गको क्यान्सर समेत हुन सक्ने भएकाले रोकथामको लागि यस्ता शिविर आवश्यक रहेको उहाँको भनाई छ । रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले कुकुर आतंक नियन्त्रणको विकल्पमा शिविर सञ्चालन गरिएको बताउनुभयो ।