कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ हरकपुरा स्थित गण्डक नहरमा आज बेपत्ता भएका तीन जनाकाे शव फेला परेकाे छ ।
साेहि वडा नम्बर २, महलबारी बस्ने तिर्थराम थारुको श्रीमती अन्दाजी २९ बर्षकी (मानसिक सन्तुलन सामान्य नरहेकी ) प्रतिमा थारुले आफ्नो दुई छोराहरू अन्दाजी ९ बर्षका क्रिश थारु र अन्दाजी ७ बर्षका सुमित थारुलाई समेत साथमा लिई दिउँसो अन्दाजी १:५५ बजे पानीमा हाम फालेकी थिईन् ।
स्थानीयले दिउँसो करिब २:४० बजे प्रहरी चौकी कुडियामा खबर गरे पश्चात् साेहि चौकीबाट प्रहरी बरिष्ठ हवल्दार बिज्ञान भट्टराईको कमाण्डमा ३ जना र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक नवराज के.सी.को कमाण्डमा खटिएकाे ७ जनाको टोली उद्वारका लागि घटनास्थल पुगेकाे थियाे ।
उद्धारको क्रममा घटनास्थल देखि अन्दाजी सय मिटर तल नहरमा आफ्ना दुवै बालकलाई हातमा सलको डोरी बाँधी संगै नहरमा हाम फालेको अवस्थामा मृत अवस्थामा तीनै जनालाई उद्धार गरीएकाे प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
निज महिलाको के कति कारणले दुईजना बालक सहित नदीमा हाम फालिन् भन्ने कुरा हालसम्म नखुलेको र साे विषयमा अनुसन्धान भईरहेको समेत डिएसपी पाण्डेले बताउनुभएकाे छ ।