दाङ । प्रहरीको हिरासतमा रहेका श्रीमानलाई दाङमा लागुऔषध लिएर भेट्न गएकि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई श्रीमती शान्ति घर्ती खड्काले भेट्न जादा १२० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेकाे हाे । हिरासतमा रहेका खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताउनुभयो ।
हिजो सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । फलफूल लिएर श्रीमानलाई भेट्न गएकी उनलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको हो ।
‘हिरासतमा श्रीमानलाई भेट्न आएको बेला चेकजाँच गर्दा केराभित्र लुकाएको अवस्थामा लागुऔषध भेटियो,’ प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभएकाे छ ।
गौतमका अनुसार उनी लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने उद्देश्यले पुगेकी थिइन् ।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । उनीमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको समेत प्रहरी नायव उपरीक्षक गाैतमले बताउनुभएकाे छ ।