ताजा अपडेटः

निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी

निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रले बढायो निगरानी प्रकाशित मिति: २७ कार्तिक २०७९, आईतवार १८:१५

परासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानी सँगै सुरक्षा गस्ती बढाएको जनाएको छ ।

निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधान सँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका सूचना अधिकारी डी एस पी केशव राज थापाले जानकारी दिनुभएको छ ।

भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ कि.मि. लामो छ । ‘अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचन मै केन्द्रीत हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहत का युनिट सँगै भारतीय एस एस बीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ, डि एस पि थापाले बताउनुभयो ।

२६ नं. हेडक्वाटर मातहतमा ५ वटा बी ओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेका छन् । निर्वाचन नजिकिए सँगै सीमा क्षेत्रमा निगरानी बढाइ अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो ।

बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैधरुपमा ल्याउँदै गरेका सामान समेत धमाधम बरामद हुन थालेका छन् । बरामद भएका समानमा चिनी, कपडा, मोबाइल, इलोक्ट्रोनिक लगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।



Ads