डोटि। डोटीमा भूकम्पमा परेर ज्यान गुमाएका ६ जनाको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा उहाँकी ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको ज्यान गएको छ ।
यस्तै त्यही ठाउँका उमेर नखुलेका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको ज्यान गएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो । बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
गैरागाउँमा ८ वटा घर भत्किएका छन् । भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ का धेरैजसो घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भूकम्पपछि जोखिम बढेको र घर चर्किएका कारण स्थानीयवासीले चौरमा बसेर रात बिताएका छन् ।
साभार: उज्यालो