नवलपरासी पश्चिम, बैशाख १६ गते । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा आज बैशाख १६ गतेदेखि बैशाख ३१ गतेसम्म सडक विस्तारको लागि रातिको समयमा गाडिको आवागमन बन्द गरिने भएको छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीेका अनुसार दाउन्नेमा पहाड काट्ने, कल्भर्ट निर्माण गर्ने र पर्खाल लगाउने कामलाई बर्षात अगावै सम्पन्न गर्न केहिँ दिन राति ११ बजेदेखि बिहान ५ बजेसमम्म आवागमन बन्द गर्नुपरेको हो ।
उहाँका अनुसार दाउन्ने सडकखण्ड विस्तारले खराब बाटोका कारण बुटवल–नारायणगढ सडकखण्ड पारगर्न यात्रु र चालकहरुलाई करिब १०/ १२ घण्टासम्म लाग्ने गरेको समस्याको अन्त्य हुनेछ ।
नारायणगढ–बुटवल १ सय १४ किलोमिटर सडक अन्तर्गत दाउन्नेबाट गैँडाकोटसम्मको ६५ किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेन सहित ६ लेनको र जोखिम बढी रहेको क्षेत्र दाउन्नेको १४ किलोमिटर सडकखण्डमा ३ लेनको सडक विस्तार भैरहेको आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंसाक मिश्रले जानकारी दिनुभयो ।
करिब १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पहिलो २०७५ साल चैत ८ मा दाउन्नेपूर्व र पश्चिम गरीे ११४ किलो मिटर सडक विस्तारको काम शुरु गरेको थियो । वि.स.२०७९ साउन २२ गते भित्र सक्ने गरी दिएको ठेक्का, २०८० साउनमा दोस्रो पटक र निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनमा तेस्रो पटक म्याद थप गरेको थियो । तेस्रो पटक थपिएको म्याद २०८२ साउन ८ मा सकिनेछ ।
निर्माण कार्यलाई प्रभावकारी बनाउन बैकल्पिक बाटोको रुपमा नारायणगढ देखि बुटवलतर्फ आउने यात्रुवाहक सवारी साधनलाई होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डमा रोकिनेछ भने मालवाहक सवारी साधनहरु चोरमारा र अरुणखोला बजार क्षेत्रमा रोकिने छन् ।
त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक सवारीहरु चिसापानी र बर्दघाट खण्डमा रोकिने व्यवस्था मिलाईएको छ । यात्रुहरुले भने वैकल्पिक मार्गको रुपमा काली गण्डकी करिडोर अन्तर्गत गैडाँकोट राम्दी सडकखण्ड प्रयोग गर्न सकिनेछ ।
आयोजना निर्देशनालयले निर्माण कार्यका कारण सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेकोछ । यात्री र चालकहरुलाई सवारी चलाउदा र रोक्दा अनुशासनको कडाईका साथ पालना गर्न र भिडभाडको अवस्थामा जथाभावि ओभरटेक नगर्न अनुरोध गरिएको छ । नियम उल्लङ्घन गर्नेहरुलाई प्रचलित कानुन अनुसार कडा भन्दा कडा कारबाहि गरिने समेत चेतावनी दिईएको छ ।