नवलपरासी पश्चिम चैत २४ गते । नवलपरासी पश्चिमका किसानहरुलाई यतिबेला गहुँ काट्ने चटारो छ । १ हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् । सबै किसानले आफुले लगाएको गहुँ कम्पाइन मेशिनबाट काट्दै आएका छन् । त्यसरी कम्पाइन मेशिनबाट गहुँ काटेर खेतमा बाँकी रहेको छ्वाली अर्थात नललाई अधिकांश किसानले आगो लगाएर डडाउने गरेका छन् । त्यसरी खेतमा आगो लगाउँदा माटोको उत्पादन शक्ति कम हुने र उत्पादनमै कमि आउनेमा अधिकांश किसान अनविज्ञ जस्तै छन् । खेतमा रहेको नल काट्दा थप लागत लाग्ने भन्दै अधिकांश किसानहरुले त्यसरी आगो लगाउने गरेका छन् । तर त्यही नलको सदुपयोग गरेर केही किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । गहुँको नलबाट भुस बनाएर पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्माका ५५ वर्षका अशोक यादवले १५ दिनमा ४ लाखसम्म आम्दानी गरेको सुनाउनुभयो ।
“अहिलेदेखि वैशाखको ५/७ गतेसम्म गहँु काटिन्छ, यो १५ दिनमा गहँुको छ्वाली काटेर भुस बनाएर बेच्छौ, ड्राइभर खर्च, डिजल खर्च,ट्रयाक्टर मर्मत खर्च कटाएर पनि १ देखि डेढ लाख सम्म बच्नेगर्छ” यादव भन्नुहुन्छ । उहाँले नौँ वर्षअघि यो पेशा अगाल्नुभएको हो । अहिले उहाँकै गाउँमा मात्र ६ जनाले यो काम गर्ने गर्दछन् ।
पाल्हिनन्दन गाउँपालिका कुश्माकै २७ वर्षका विष्णु वर्माले पनि यहिँ पेशा अगाल्नुभएको छ । गहुँ काट्ने सिजनमा गहुँ काटिसकेपछि खेतमै गएर भुष मेसिनले नल काट्नुहुन्छ । वर्मा भन्नुहुन्छ “यो १५ दिन हामीलाई सास फेर्ने पनि फुर्सद हुदैन । दिउँसो खाना खान १२ बजे १ घण्टा आराम गर्छौँ , घर पुग्दा रातिको १२ बज्छ , फेरि बिहानै ५ बजे हामी काममा निस्किहाल्छौ ”।
वर्माले गहुँ सिजनमा भुस बनाएर बेच्न थालेको पाँच वर्ष भयो । सबै खर्च कटाएर उहाँले १५ दिनमा १ लाख सम्म आम्दानी गर्नुभएको छ । वर्मा भन्नुहुन्छ ,यतिबेला हरियो घासँ पाइदैन, गाईँ, भैैसीँलाई भुसको अर्डर आउछ । एक ट्रयाक्टरको तिन हजार देखि तिन हजार पाचँ सय सम्म विक्रि हुने गरेको छ ।
स्थानीय तहहरूले समेत गहुँ काटिसकेपछि खेतमा रहेको नल जलाउनेलाई कानुन बमोजिम कारबाही र जरिवाना गर्ने जनाइ रहँदा उनीहरुले नलबाट भुस बनाएर आम्दानी गर्ने गरेका छन् । हरेक वर्षजसो गहुँ काटिसकेपछि खेतमा रहेको छ्वाली जलाने क्रममा आगलागीका घटना घट्ने भन्दै स्थानीय तहहरूले त्यस्तो कार्य गर्नेमाथि कारबाही र जरिवाना गर्ने जनाएका हुन् ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गहुँ खेतमा आगो लगाउनेलाई २५ हजार जरिवाना हुने जानकारी दिनुभयो । रामग्राम नगरपालिकाले सूचना निकालेर हावाहुरी चलेको समयमा गहुँ खेतमा आगो लगाउँदा नजिकै रहेको अन्य खेतीमा र बस्ती नै जोखिममा पर्ने भन्दै त्यस्तो कार्य गरेमा कारबाही हुने जनाएको छ ।
त्यसैगरी प्रतापपुर गाउँपालिकाले पनि खेतमा आगो लगाउँदा खेतमा हुने जिवहरूको विनाश हुने र उत्पादन तथा उत्पादकत्वमा कमी आउने तथा विपद्का घटना निम्ताउने भएकाले त्यस्तो कार्य नगर्न गाउँबासीलाई सूचना मार्फत् सचेत गराएको छ ।
जिल्लामा गतवर्ष २७ हजार २४६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष पनि तातो हावा नचले र आगलागी नभए सोही अनुपातमा गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।