माघ ४, नवलपरासी । सोझो अर्थमा भन्दा बालबालिकालाई केन्द्रमा राखेर गरिने शासन बालमैत्री शासन हो । विस्तृत रुपमा भन्दा बालमैत्री गैर विभेदीकरण, बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गिण विकस र बाल सहभागिताको सिद्धान्तमा आधारित भै बालअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन हो । यसलाई टेकेर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वि.स. २०७२ जेष्ठ ३२ गते नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । यो नगरमा अहिलेपनि बालबालिकालाई केन्द्रमा राखेर शासन पद्धति अगाडि बढाइएको छ ।
दिगोपनाका लागि गरिएका कार्यक्रम
सुनवल नगरपालिकामा १३ वटा वडाहरु छन् । समुदायस्तरीय र विद्यालयस्तरीय बाल क्लबबाट प्रतिनिधित्व हुनेगरी प्रत्येक वडामा १/१ वटा बाल सञ्जाल रहेका छन् । त्यसको प्रतिनिधित्व हुने गरी एउटा नगरपालिकामा नगरस्तरीय बाल सञ्जाल छ । यसरी नगरमा कुल १४४ वटा बाल क्लब रहेका छन् ।
सुनवल नगरपालिकाले बालबालिकाको दिगोपनाको लागि नमुना कार्यक्रम अन्तर्गत नगर बाल कोष बनाएको छ । जसअन्तर्गत हिंसामा परेका, अति विपन्न, अपाङ्ता भएका बालबालिकालाई सहयोग गर्दै आएको छ । गतवर्ष मात्र अति विपन्न ८ जना बालबालिकालाई पढाइमा समेत सहयोग गरिएको थियो ।
त्यस्तै नगरप्रमुख विमला अर्यालको संयोजकत्वमा नगरस्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ । जसले हरेक २ महिनामा बैठक बसी बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, अनुगमन, निरीक्षण र संरक्षणका कामहरु गर्दै आएको छ ।
बालबालिकाहरुको अधिकार संरक्षण गर्दै उनीहरुको वृत्ति विकासका लागि वडा नम्बर २ का अध्यक्ष राजेन्द्र यादवको संयोजकत्वमा बालअधिकार समिति गठन गरिएको छ । समितिले समाजको हानिकारक अभ्यास ( दाइजो प्रथा, बाल विवाह, छुवाछुत ) मा सडक नाटक, विद्यालयहरुमा नाटकका माध्यमबाट सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ ।
पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम निर्माणदेखि निर्णयहरू गर्दा बाल सञ्जालबाट प्रतिनिधि मुलक सहभागिता गराउने गरेको छ ।
सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्याल भन्नुहुन्छ, “स्थानीय सरकारको हरेक निर्णयहरु बालबालिकाको सर्वोत्तम हितमा हुनुपर्छ, हाम्रा बोली तथा व्यवहारहरू बालबालिकाको प्रिय हुनुपर्छ र हाम्रा भौतिक निर्माणहरू बालबालिकाको पहुँचमा हुनुपर्छ । ’
बालबालिकामा आएको परिवर्तन
बल क्लबमा आवद्ध भएपछि बलबालिकाहरुमा निकै परिवर्तन आएको छ । उनीहरुमा देखिने डर र लज्जालु स्वभाव हराएको छ । बाल क्लबमा आवद्ध भएका बालबालिकाहरुले अहिले समुहमा उभिएर आफ्नो परिचय सजिलै राख्न सक्ने भएका छन् । यसमध्येकी एक हुन् सुनवल नगरपालिका वडा नम्बर ४, वडा बाल सञ्जालको उपाध्यक्ष क्यास्मिला जिसी । बाल क्लबमा आवद्ध भएर विभिन्न कार्यक्रममा सहभागी हुन थालेपछि आफूमा धेरै भिन्नता आएको जिसीको भनाई छ । ‘कुनैबेला मलाई घरबाट बाहिर निस्किन डर लाग्थ्यो । साथीहरुको माँझमा बसेर कुराकानी गर्न अप्ठ्यारो महसुस हुन्थ्यो । आफ्ना मनका विचार र प्रश्नहरु खुलेर राख्न सक्दिनथे । तर, आज म निर्धक्कका साथ मञ्चमा उभिएर आफ्ना कुरा राख्न सक्ने भएकी छु । ’ क्यास्मिलाको भनाई छ । जिसी आवद्ध क्लबमा १५ जना छन् । महिनाको एक पटक उनीहरु बैठक बस्छन् । ‘वडा बाल सञ्जालको स्वयंसेविकाले समुहमा राखेर नैतिक शिक्षा, सामाजिक शिक्षा, व्यक्तिगत आचरण, शैक्षिक ज्ञान, अनुशासन ,सरसफाईका ज्ञानहरु दिने गर्नुभएको छ । बालबालिकाको अनुभव, विचार सुन्नुहुन्छ । हामीहरुको चाहना अनुरुप कहिले चित्रकला, कहिले नृत्य, कहिले बक्तृत्वकला, कहिले हाजिरी जवाफ प्रतियोगितालगायतका क्षमता अभिवृद्धिका सिपहरु सिकाउनुहुन्छ ।’ कक्षा ८ मा अध्ययनरत क्यास्मिला भन्नुहुन्छ । बाल क्लबमा हुने विभिन्न गतिविधिले धेरै कुरा जान्ने र सिक्ने मौका पाएको उहाँको भनाई छ ।
सुनवल नगरपालिका वडा नम्बर १ पाइनियर पथकी १७ वर्षकी निशा गौतमको अनुभव रोचक छ । पहिला साथीहरु सँग घर बाहिर जाँदा परिवारले जान नदिएको अनुभव सुनाउँदै बताउँदै निशा भन्नुहुन्छ,‘ अहिले मलाई परिवारले रोकतोक गर्नुभएको छैन । ’ पढाईसँगै क्लबमार्फत अतिरिक्त कार्यक्रममा भाग लिन थालेपछि अहिले मञ्चमै गएर आफ्ना कुरा राख्न आफूलाई कुनै धक नलाग्ने निशाको भनाई छ । ‘ सबैसगँ सामुहिक रुपमा बस्दा, सिक्दा, हिड्दा एकतामा बल छ भन्ने महसुस हुन्छ । जानेको कुरा सहज रुपमा समुहमा आदान प्रदान गर्ने र नजानेको सहज रुपमा सोध्न सक्ने क्षमता बृद्धि भएको छ । ’ कक्षा १२ मा अध्ययनरत निशाले भन्नुभयो । देख्दा उनी खुसी छिन् । उहाँले विद्यालयमा रहेको बाल क्लब पनि हेर्ने गर्नुभएको छ । ‘ नगर बाल क्लबमा आवद्ध भएका कारण कहिकतै विद्यालयमा बालबालिकालाई अप्ठ्यारो भएमा त्यसको समाधारका लागि थुप्रै पहलहरु गरेको छु ।” निशाले भन्नुभयो ।
महिनावारी हुँदा विद्यालयले आवश्यक प्याड नदिएको अवस्था, सानो गल्तिमा पनि सजाय दिएको अवस्था जस्ता गुनासो आउँदा शिक्षक शिक्षिका, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिसगँ तत्काल बैठक बसेर समस्याको समाधान खोज्दै आएको उहाँले बताउनुभयो ।
बालबालिकाहरुले अधिकारसँगै कर्तव्य नबुझ्दा कहिले काही समस्या ल्याएकोे अनुभव सुनवल नगरपालिका वडा नम्बर १० सुरक्षा बाल क्लबकि अध्यक्ष प्रिन्सी कार्की.की आमा मनिषा काकीको भनाई छ ।
छोराछोरीको असिमित चाहना र माग सँगै सानो कमाईले सबैकुराको व्यवस्थापन गर्नुपर्ने हुँदा कहिलेकाहिँ कठिन हुने गरेको मनिषा बताउँनुहुन्छ । ‘बच्चाहरु बढी जिद्धि गर्ने, भरखर दिनुस् भन्ने, छोराछोरीको आवश्यता पुरा गर्नु अभिभावकको पहिलो दायित्व र जिम्मेवारी भित्र पर्छ भन्दा मन खिन्न हुन्छ । ’ मनिषाको भनाई छ ।
छोरीले आफ्ना कुराहरु निर्धक्क राखेको देख्दा भने मनिषा खुसी हुनुहुन्छ । बालअधिकारका विषयमा घरमा पनि छोरीले सुनाउने गरेको मनिषाको भनाई छ । अधिकार सँगै घरको परिस्थिति, जिम्मेवारी र अवस्था पनि बुझिदिए परिवारलाई थप हौषला मिल्नेमा मनिषाको आसा छ ।
नगर क्षेत्रका विद्यालयहरुले बाल क्लब गठन गरेर अधिकारका बारेमा पैरवी गर्दै आएका छन् । लुम्बिनी माध्यामिक विद्यालयका प्राध्यानाध्यापक हुमनाथ सुवेदी भन्नुहुन्छ,‘ हाम्रो विद्यालयमा बाल क्लब छ, यहाँ बाल अधिकारको क्षेत्र सुनिश्चित छ । हामीले बालमैत्री धारा बनाएका छौ । महिनावारी हुँदा प्रयोग गरिने प्याड हरेक बालबालिकाले पुग्ने ठाउँमा राखेका छौ । हरेक कक्षा कोठा बालमैत्री छ, पढाउँदा बालबालिकाको मनोविज्ञानलाई हेरेर उनीहरुको रुची र चाहना बुझेर रमाईलो तरिकाले अध्यय अध्यापन गराइने गरिन्छ ।’
त्यतिमात्र नभएर विद्यालयको हरेक क्रियाकलाप, बैठक गोष्ठी, अन्तर्क्रियालगायतका सबै कार्यक्रममा बालबालिकाको प्रतिनिधित्व मुलक सहभागिता गराइने सुवेदीले बताउनुभयो । सामाजिक विकास संयोजक भगवती बस्यालका अनुसार बालबालिकाको क्षेत्रमा यति प्रतिशत बजेट भनेर नतोके पनि आवश्यतालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाएर बजेट छुट्टाउने गरेको र नगरसभाबाट पास हुने गरेकोे छ । त्यस्तै यस आर्थिक वर्षमा प्रत्येक १३ वटा वडामा त्यहाँको भुगोल बालबालिकाको अवस्था र आवश्यकतालाई हेरेर ५० हजार देखि २ लाखसम्म बजेट छुट्टाइएको उहाँको भनाुई छ । छुट्टाइएको बजेट वडास्तरीय समितिले निर्णय गरेर कार्ययोजना बनाए पश्चात आवश्यकता अनुसार बाल बचाउँ, बाल विकास, बाल सहभागिताका विषयमा खर्च हुने गरेको छ ।
बालबालिकाहरुका लागि बाल समिति र बाल क्लबहरुले नगर क्षेत्रमा विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएकाछन् । यसले बालबालिकाहरु माथि हुने दुर्व्यवहारलगायतका घटना हुनबाट रोक्न मद्दत मिलेकोे नगरपालिकाले जनाएको छ ।
अवलोकन स्थल बन्दै सुनवल
कतिपय स्थानीय तहहरुले बालमैत्री स्थानीय शासनलाई सूचक पूरा गर्ने र घोषणा गर्ने विषयमा मात्र बुझेको देखिन्छ । दिगोपनाका लागि कुनै कार्यक्रम सञ्चालन गरेको देखिएको छैन । सुनवलको बालमैत्री नगरको अवस्थाका बारेमा जानकारी लिन अहिले जिल्लाका विभिन्न स्थानबाट विद्यालय र विभिन्न संघ संस्थाहरु अवलोकनका लागि सुनवल आउने गरेको नगर प्रमुख अर्यालले बताउनुभयो । त्यसरी आउने विद्यालय र संघ संस्थाहरुले यहाँको सिकाईलाई आफूले लागु गर्ने प्रतिबद्धता जनाएर जाने गरेको अर्यालेको भनाई छ । धेरैजसो स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाको हल्ला गर्ने र त्यसपछि फेरि पुरानै अवस्थामा फर्कने परिस्थिति भोगिरहेको देखिएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका सुनवल नगर अध्यक्ष ज्ञानहरि अर्याल भन्नुहुन्छ “यो कुनै आयोजना परियोजना र कार्यक्रम होइन । बालमैत्री शासन त संस्कार हो, संस्कृति हो । यसका निश्चित कार्यविधिहरू छन् । सूचकहरू पूरा भएको सुनिश्चित गर्ने मापदण्डहरू छन् । बालमैत्री घोषणा यसका विभिन्न चरणहरूमध्ये एउटा चरण हो । घोषणा बालमैत्री शासनको एउटा दरिलो प्रतिबद्धता हो । त्यसैले बालमैत्री स्थानीय शासनलाई विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्न जरुरी छ ।’ बालमैत्री स्थानीय शासनका विषयमा नीतिगत वकालत गर्न र सबै सरोकारवालाहरूमा सचेतना बढाउन पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाई छ ।
बालमैत्री पालिका घोषणा गर्नु भनेको सबै बालबालिकाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो । सुरक्षित, जन्म, खोप तथा स्याहार पाउने उनीहरूको अधिकार सुनिश्चित गर्नु नै बाँच्न पाउने अधिकार सुनिश्चित हुनु हो । हाम्रा बालबालिकाहरू हेला, अपमान, दुर्व्यवहार , श्रमशोषण, बालविवाह, बेचविखन, लागु औषध, बालसैन्य आदि क्षेत्रबाट मुक्त बनाउने अभियान बालमैत्री अभियान हो ।
सबै बालबालिकाले शिक्षा प्राप्त गरून्, मनोरञ्जन, खेलकूद तथा आफ्नो व्यक्तित्व विकास गर्ने अवसरहरु प्राप्त गरून् । घरपरिवारदेखि राज्यस्तरसम्म बन्ने भौतिक संरचनाहरु बालबालिकाले प्रयोग गर्न सक्ने खालका बनुन् । बालबालिकाको कुरा सुनियोस् । उनीहरूलाई आफ्ना विचार व्यक्त गर्ने अवसर दिइयोस् । उनीहरू को आफ्नो समूहमा संगठित भएर सिर्जनात्मक काम सिक्ने मौका पाउन् । बालबालिकालाई सजाय होइन, माया दिऊ । आफ्नो गच्छेले सकेको अवसर दिऊ । यही हो बालमैत्री शासन । बालबालिकाको लागि सुहाउँदो वातावरण निर्माण गर्न हामी सबै सरोकारवाला क्रियाशील बनौं ।