कल्पना खरेल
कार्तिक २, नवलपरासी । आफ्नै घरको कोठाभित्र सुतिरहेको अवस्थामा घाँटी काटी भएको हत्यामा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यलय नवलपरासीले पक्राउ गरेकाे छ ।
यहीँ साउँन १४ गते बिहान ४:२० मा पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाँउपालिका वडा नं. ५ का रोशन भन्ने सुर्य कुमार बढईलाई भाईसंगै खाटमा सुतिरहेको अवस्थामा घारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरिएकाे थियाे ।
प्रहरीले सो घटनाका सम्वन्धमा सुक्ष्म रुपमा बुझ्दै जादा घटनामा संलग्न पश्चिम नवलपरासीको पाल्हिनन्दन गा.पा. वडा नं. ६ बस्ने पल्लु भन्ने सत्यनारायण बढईको छोरा वर्ष ३० का जोगिन्दर बढई ,बर्ष २० का सुरज राजभर र परिवर्तित नाम २०८१ वर्ष १७ ब कुमारलाई पक्राउ गरेकाे हाे ।
अनुसन्धानका क्रममा साउन ११ गते जोगिन्दर बढईको श्रीमतिलाई आफन्तको घरमा पुर्याउन मृतक रोशन भन्ने सूर्य कुमार बढईले मोटर साइकलमा राखि जाँदै गर्दा बाटोमा जोगेन्दरसंग भेट भएपश्चात विवाद शुरु भएको खुल्न आएकाे छ । विवादसंगै निजले मृतकसंग बदलाको भावना राखी रिसिईवी साँधेका थिए ।
सो कुरा जोगिन्दरको साथी सुरज राजभर र परिवर्तित नाम २०८१ वर्ष १७ ब कुमारलाई जानकारी गराई निजलाई तह लगाउनु पर्छ भनी १३ गते बेलुकी गाउँको कुटियामाई मन्दिरमा बसि गाँजा सेवन गर्दै सोही स्थानमा बोलाएका थिए ।
त्यसपछि मृतक साथीहरू सगँ उक्त स्थानमा मोटरसाइकलमा आएपश्चात जोगिन्दर र सुरज लुकेकोले ब कुमारले दुईजना बिचको विबादको विषयमा जिज्ञासा राखेका थिए ।
तर कुनै निस्कर्ष बिना नै रोशनहरु फर्केका थिए । त्यसपछि प्रतिवादीहरु ३ जना बेलुकि गाँउको पसलमा मादक पदार्थ समेत सेवन गरि सो रात मृतकको घर नजिक बगैचामा गाँजा सेवन गर्दै बसेको प्रहरीले जानकारी दिएकाे छ ।
जोगिन्दर बढईले साथमा लिई आएको पखुवा(धारिलो हतियार) लिई रोशन सुतेको ठाउमा गई बिहानपख लगभग ४ बजेतिर घटना घटाई उक्त हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाई निजको आफ्नो UP 56 AA 2789 मा भारततर्फ भागेका थिए भने अन्य २ जना गाँउघरमा नै बसेका थिए ।
तत्पश्चात खोजतलास गर्ने क्रममा यहीँ असाेज २३ गते हत्यामा संलग्न जोगिन्दर बढई आफ्नै घरमा आई लुकिछिपि बसेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएकाे प्रहरी टोलीले निजलाई पक्राउ गरी हतियार समेत बरामद गरेकाे प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
जाेगिन्दर बढईलाई हिरासतमा राखी अनुसन्धानका क्रममा घटनामा संलग्न देखिएका अन्य दुई जना समेतलाई पक्राउ गरिएको हाे । पक्राउ परेका तीन जना अभियुक्तलाई जिल्ला अदालत परासीबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको डिएसपी बाेहराकाे भनाई छ ।