ताजा अपडेटः

रवि लामिछानेले दिए राति १ बजेसम्म बयान / ९ घण्टामा ५१ प्रश्न

रवि लामिछानेले दिए राति १ बजेसम्म बयान / ९ घण्टामा ५१ प्रश्न प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार ०७:३६

काठमाडौं, भदौ ८ ।
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घण्टाभन्दा बढी बयान लिएको छ।
समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे शुरु भएको बयान मध्य राति १ बजेसम्म चलेको थियो ।
तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेसँग समितिले बयान लिएको हो। लामिछानेसँग समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका थिए । अधिकांश प्रश्नमा उनी उम्किन खोजेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।
‘अधिकांश प्रश्नमा लामिछाने जिम्मेवारीबाट उम्कन खोज्नुभएको छ’, उनले भने, ‘तर, तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्नमा स्वीकार पनि गर्नुभएको छ।’
लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको जवाफ दिएका छन्।
उनले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको पक्षमात्र हेरेको र आर्थिक पक्ष जीबी राईको जिम्मेवारी रहेको बयान दिए। आफू गृहमन्त्री हुँदा राईलाई पक्राउ गरेर ल्याउने काममा धेरै नजिक पुगेको भन्दै उनले अहिलेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न तेर्स्याए।



Ads